सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने उद्देश्यले छिमेकीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
असार ७ गते राति मानपुर निवासी ५३ वर्षीय होसनारायण राय यादवको घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न रहेको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिँदै आरोपीलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार असार ६ गते मोबाइलको विषयमा सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग विवाद भएको थियो। बुवा श्यामबाबु र भिनाजु रामविलास रायसँग पटक–पटक पैसा माग्दा पनि नपाएपछि उनी आक्रोशित बनेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलका अनुसार आफ्नो घरमा नियमित आउने छिमेकी होसनारायणको हत्या गरेपछि त्यसको आरोप बुवा र भिनाजुमाथि जाने योजना बनाएर सन्तोषले घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार खराब आचरणका कारण सन्तोषलाई यसअघि परिवारले सुधार केन्द्रमा समेत राखेको थियो ।
प्रहरी अनुसन्धानबाट हत्या गर्न जाँदा र घटनापछि फरार हुँदा सन्तोषले चोरी भएको ना. ४५ प. २६८५ नम्बरको मोटरसाइकल प्रयोग गरेको खुलेको छ । हत्या गरेपछि उनले मोटरसाइकल लालबन्दी नगरपालिका–२ नवलपुर क्षेत्रमा छाडेर फरार भएका थिए ।
असार १६ गते बरहथवा नगरपालिका–७ बरहथवा बजारनजिकबाट पक्राउ परेका सन्तोषले मोटरसाइकल नवलपुरमा छाडेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकको सीसीटीभी फुटेज तथा प्राविधिक अनुसन्धानका आधारमा उनलाई पक्राउ गरिएको हो । हत्यापछि खेतमा फालिएको हँसिया पनि प्रहरीले बरहथवा नगरपालिका–१३ बाट बरामद गरेको छ ।
प्रहरीले सन्तोषविरुद्ध कर्तव्य ज्यान र चोरीसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।