सर्लाहीको बसवरिया गाउँपालिकामा ५३ वर्षीय एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा बसवरिया गाउँपालिका–१ मानपुर निवासी २५ वर्षीय सन्तोषकुमार राय रहेका छन् । प्रहरीका अनुसार गत असार ७ गते बिहान करिब १ः४५ बजे स्थानीय ५३ वर्षीय होस नारायण राय यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनीमाथि धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणबाट यादवको घाँटीको दाहिने भागमा गहिरो चोट लागेको थियो ।
गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि नगर अस्पताल बरहथवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मानपुर, इलाका प्रहरी कार्यालय बरहथवा, केनाइन शाखा लालगढ (धनुषा) बाट कुकुरसहितको संयुक्त प्रहरी टोली तथा एसओसीओ (SOCO) टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
प्रहरीले सूक्ष्म अनुसन्धानका क्रममा शंकास्पद अवस्थामा रहेका सन्तोषकुमार रायलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रायको साथबाट घटनामा प्रयोग भएको तथा घटनास्थलबाट करिब ३ सय मिटर टाढाबाट चोरी गरिएको ना.४५ प २६८५ नम्बरको निलो रङको ग्लाम्बर १ सय २५ सीसी मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी सम्बन्धी मुद्दा दर्ता गरिएको छ । सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय बरहथवाले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।