धान रोपाइँको मुख्य समयमा गण्डक नहरको पानी खेतसम्म नपुग्दा बारा, पर्सा र रौतहटका हजारौं किसान सिंचाइ संकटमा परेका छन् । भारतबाट गण्डक नहरमा पानी आएको एक साताभन्दा बढी भइसक्दा पनि खेतमा पानी नपुगेपछि किसानहरूले नारायणी सिंचाइ व्यवस्थापन कार्यालयमाथि लापरवाही गरेको आरोप लगाएका छन् ।
बाराको फेटा गाउँपालिकाका किसान आसिम अन्सारीले सिंचाइ अभावका कारण धानको बेर्ना सुक्न थालेको बताए । महँगो मूल्यमा बीउ खरिद गरी बेर्ना तयार गरे पनि समयमा पानी नपाउँदा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
किसानहरूका अनुसार भारतले असार १० गतेदेखि गण्डक नहरमार्फत नेपालतर्फ पानी छाडिसकेको भए पनि सम्बन्धित कार्यालयले उक्त पानी खेततर्फ नपठाई सिक्टा नदीतर्फ मोडेको छ । यसका कारण धान रोपाइँ प्रभावित भएको उनीहरूको गुनासो छ । यता नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर मनोज पटेलले तराई क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले विपद् व्यवस्थापनसम्बन्धी निर्देशनअनुसार पानी व्यवस्थापन गरिएको दाबी गरे । तर किसानहरूले यस्तो निर्णय गैरजिम्मेवारपूर्ण भएको भन्दै तत्काल खेतसम्म पानी पुर्याउन माग गरेका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने गण्डक नहरको पानी सञ्चालन रोक्न विपद् व्यवस्थापन समितिबाट कुनै निर्देशन नआएको स्पष्ट पारे । उनले सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै किसानका खेतसम्म पानी पुर्याउने व्यवस्था मिलाइने बता ए।
यसैबीच, नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले नहर मर्मत तथा सरसफाइका नाममा नियमविपरीत कोटेशनमार्फत काम गराएको आरोप पनि लागेको छ । कार्यालय स्रोतका अनुसार समयमै बजेट उपलब्ध हुँदाहुँदै सार्वजनिक खरिद प्रक्रिया पूरा नगरी मर्मतको काम गराइएको दाबी गरिएको छ ।
नाम उल्लेख नगर्ने शर्तमा कार्यालयका एक कर्मचारीले नहर मर्मतका लागि विनियोजित बजेट पारदर्शी रूपमा खर्च नगरिएको आरोप लगाए । यसअघि गहुँबालीको समयमा पनि भारतले आफ्नो क्षेत्रमा नहर मर्मतको कारण देखाउँदै गण्डक नहरमार्फत नेपालतर्फको पानी आपूर्ति रोकेको थियो । अहिले धान रोपाइँकै समयमा फेरि पानी अभाव भएपछि किसान थप चिन्तित बनेका छन् ।
किसानहरूले गण्डक नहरको पानी तत्काल सञ्चालन गरी धानको बेर्ना जोगाउन र सिंचाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।