वीरगंज उद्योग वाणिज्य संघले वीरगंजको मुख्य सडक विस्तारको विषयमा सरकारलाई पुनर्विचार गर्न आग्रह गर्दै ऐतिहासिक तथा व्यापारिक महत्त्व बोकेको पुरानो बजार क्षेत्र जोगिने गरी पूर्वनिर्णयअनुसारको एलाइनमेन्ट कार्यान्वयन गर्न माग गरेको छ ।
संघले बिहीबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै विकासका नाममा ऐतिहासिक बजार क्षेत्रलाई विस्थापित गर्ने कुनै पनि योजना स्वीकार्य नहुने जनाएको हो । संघले वीरगंज मुलुककै प्रमुख व्यापारिक प्रवेशद्वार भएको उल्लेख गर्दै यहाँबाट हुने आयात–निर्यातले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण गराएको छ । त्यसैले सडक विस्तारको योजना बनाउँदा स्थानीय व्यापार, उद्योग, ऐतिहासिक सम्पदा तथा सर्वसाधारणको जनजीवनमा पर्ने प्रभावलाई प्राथमिकताका साथ मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएको छ ।
संघका अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापनपत्रमा २०७२ सालमा मन्त्रिपरिषद्ले त्रिभुवन राजपथको वीरगञ्ज खण्डमा रहेको पुरानो सडकको एलाइनमेन्ट परिवर्तन गरी परवानीपुर–बहुअरी क्षेत्रमा रहेको एकीकृत जाँच चौकी (आईसीपी) जोड्ने नयाँ सडक निर्माण गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
उक्त निर्णयअनुसार नयाँ सडक निर्माण भई सञ्चालनमा आइसकेको अवस्थामा पुनः पुरानो बजार क्षेत्रबाट सडक विस्तार गर्ने तयारी नीतिगत रूपमा पनि उचित नदेखिएको संघको भनाइ छ । संघका अनुसार पुरानो बजार क्षेत्रबाट सडक विस्तार गरिए सयौँ व्यवसाय, घर, मठ–मन्दिर तथा ऐतिहासिक संरचना प्रभावित हुनेछन् । यसबाट वीरगञ्जको आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने, दशकौँदेखि सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठान विस्थापित हुने, स्थानीय रोजगारी प्रभावित हुने तथा सांस्कृतिक सम्पदासमेत जोखिममा पर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा ऐतिहासिक बजार क्षेत्रको संरक्षण गर्दै हाल सञ्चालनमा रहेको वैकल्पिक मार्ग तथा आईसीपी जोड्ने सडकलाई प्रभावकारी रूपमा प्रयोग गर्न सुझाव दिइएको छ । विकास निर्माणका नाममा पुरानो सहरको अस्तित्व नै मेटिने गरी योजना अघि बढाउनु उपयुक्त नहुने भन्दै स्थानीय सरकार, सरोकारवाला निकाय, व्यवसायी तथा नागरिकसँग पर्याप्त छलफल गरेर मात्र निर्णय लिन आग्रह गरिएको छ ।
संघले अन्तर्राष्ट्रिय अभ्यासमा समेत ऐतिहासिक तथा घना व्यापारिक क्षेत्रलाई संरक्षण गर्दै वैकल्पिक बाइपास वा बाहिरी मार्गको विकासलाई प्राथमिकता दिने गरिएको उल्लेख गर्दै वीरगञ्जमा पनि त्यही अभ्यास अवलम्बन गर्न सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै रवि लामिछानेले संघको माग सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।