काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियता, संविधान र पदीय गरिमाको रक्षा गर्न नसकेको आरोप लगाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
बिहीबार पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै साहले राष्ट्रपति पौडेल वर्तमान सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए। उनले राष्ट्रपतिले संविधानको संरक्षकको भूमिकामा प्रभावकारी रूपमा काम गर्न नसकेको दाबी गरे ।
साहले जेनजी आन्दोलनका क्रममा संसद् जोगाउन राष्ट्रपतिले भूमिका निर्वाह गर्न नसकेको तथा संविधानको मर्मविपरीत सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरिएको आरोपसमेत लगाए ।
उनले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिने व्यवस्था राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेर राष्ट्रपतिले राष्ट्रिय हितविपरीत कदम चालेको आरोप लगाए । उनका अनुसार उक्त विधेयक कार्यान्वयनमा आएपछि सम्बन्धित कोषको कार्यकारी अधिकृत (सीईओ) विदेशी नागरिकसमेत हुन सक्ने व्यवस्था गरिएको छ ।
साहले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरिएको विषयमा पनि असन्तुष्टि व्यक्त गर्दै विधिसम्मत नियुक्त भएका पदाधिकारीलाई हटाउने सरकारी कदममा राष्ट्रपतिले साथ दिएको आरोप लगाए ।
दरबार हत्याकाण्डको छानबिन गर्ने सरकारको निर्णय उल्लेख गर्दै उनले उक्त घटना हुँदा तत्कालीन गृहमन्त्रीको जिम्मेवारीमा रहेका कारण नैतिकताका आधारमा पनि राष्ट्रपति पौडेलले पदमा बसिरहन नहुने धारणा व्यक्त गरे ।
उनले संसद्को अधिवेशन आह्वान भएपछि सुरु हुनुअघि नै स्थगित गरेर अध्यादेश ल्याइएको विषयमा पनि राष्ट्रपतिले कुनै आपत्ति नजनाएको आरोप लगाउँदै राष्ट्रपति पदबाट अलग हुँदा देश र जनताको हित हुने दाबी गरे ।
_.jpg)
_.jpg)
_.jpg)
_.jpg)