सर्लाही । सर्लाहीको बसवरिया गाउँपालिकामा ५३ वर्षीय एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत असार ७ गते राति बसवरिया गाउँपालिका–१ मानपुर टोलका ५३ वर्षीय होस नारायण राय यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका थिए । घाँटीको दाहिने भागमा गहिरो चोट लागेका यादवको उपचारका क्रममा नगर अस्पताल बरहथवामा मृत्यु भएको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय मानपुर, इलाका प्रहरी कार्यालय बरहथवा तथा प्रहरी कुकुर शाखा लालगढको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २५ वर्षीय सन्तोष कुमार रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्त रायले हत्या गर्न चोरीको मोटरसाइकल प्रयोग गरेको खुलेको छ । घटनास्थलबाट करिब ३०० मिटर टाढाबाट चोरी गरिएको ना ४५ प २६८५ नम्बरको निलो रङको ग्ल्यामर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका रायविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।