रौतहट । पर्याप्त वर्षा नहुँदा रौतहटमा यस वर्ष हालसम्म करिब १५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सम्पन्न भएको छ ।
समयमै पानी नपर्दा धानको ब्याड ढिलो राखिनु, तयार बिरुवा रोप्न पर्याप्त पानीको अभाव हुनु तथा अधिकांश किसान आकाशे पानीमै निर्भर रहनुका कारण रोपाइँ प्रभावित भएको हो ।
कृषि ज्ञान केन्द्र रौतहटका बाली विकास अधिकृत तथा सूचना अधिकारी सरोज मण्डलका अनुसार जिल्लामा करिब ३८ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । तर सिँचाइ सुविधाको अभाव, नहरमा समयमै पानी नछोडिनु तथा किसानले अनुदानमा प्राप्त गरेका स्यालो ट्युबवेल, पम्पसेट र बोरिङको समयमै मर्मतसम्भार नगर्दा सिँचाइमा समस्या भएको छ ।
मण्डलका अनुसार मनसुन सक्रिय भए पनि धान खेतीका लागि आवश्यक मात्रामा वर्षा नभएकाले अधिकांश खेतमा अझै पर्याप्त पानी पुग्न सकेको छैन ।
चन्द्रपुर नगरपालिका–६ का किसान नन्दलाल चौधरीले केही दिनयता जिल्लाका विभिन्न स्थानमा वर्षा भए पनि त्यसअघिको लामो खडेरीका कारण खेतबारी पूर्ण रूपमा सुख्खा रहेको बताए । उहाँका अनुसार हालको वर्षाले केही चिस्यान बढाए पनि रोपाइँका लागि आवश्यक पानी अझै पुगेको छैन ।
गुजरा नगरपालिका–४ का किसान सहदेव केसीले निजी पम्पसेटमार्फत भूमिगत पानी प्रयोग गरी सिँचाइ गर्दा डिजेल, विद्युत्, मजदुरीलगायतको खर्च अत्यधिक हुने भएकाले अधिकांश किसान वर्षाकै भर पर्न बाध्य भएको बताउनुभयो ।
यद्यपि कृषि ज्ञान केन्द्र रौतहटका अनुसार जिल्लाको दुर्गा भगवती, गढीमाई, चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिका क्षेत्रमा भने वर्षासँगै धान रोपाइँको काम तीव्र गतिमा भइरहेको छ ।