सरकार र विपक्षी दलबीच बजेट संशोधनको विषयमा सहमति जुट्न नसकेपछि मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
बजेटमाथि छलफलका लागि बुधबार बोलाइएको प्रदेश सभा बैठक विपक्षी दलहरूले बजेट संशोधनको माग गर्दै अवरुद्ध गरेपछि कार्यसूची अघि बढ्न सकेन । सहमतिको प्रयासस्वरूप सभामुख रामअशिष यादवले सर्वदलीय बैठक बोलाए पनि सत्तारुढ र विपक्षी दुवै पक्षका केही नेताहरू अनुपस्थित रहेकाले बैठक बस्न सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाका अनुसार सर्वदलीय बैठक हुन नसकेपछि बिहीबार दिउँसो साढे २ बजे बसेको प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टी ( जसपा ) नेपाल र जनमत पार्टीले पुनः अवरोध गरेका थिए ।
बैठकको सुरुमै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले बजेटलाई टुक्रे योजनामा सीमित गरेर संघीयताको मर्मविपरीत काम गरेको आरोप लगाए । सरकारले एक करोड रुपैयाँभन्दा कमका योजना नल्याउने र प्रतिस्पर्धामार्फत मात्र योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसको पालना नगरेको उनको भनाइ थियो । पूर्वमन्त्रीसमेत रहेका यादवले सरकारले प्रदेश सभालाई भ्रममा पारेको आरोप लगाउँदै बजेट संशोधन नभएसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिए ।
त्यसैगरी, जसपा नेपालका सांसद उपेन्द्र महतोले तीनदलीय गठबन्धन सरकारले संघीयताको भावना कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए । संघीयताका लागि मधेशका सयौं नागरिकले बलिदान दिएको स्मरण गर्दै उनले प्राप्त उपलब्धिलाई सहजै समाप्त गर्न नसकिने बताए । सांसद महतोले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवको गृह जिल्लामा चालु आर्थिक वर्षको रातो किताबमै समावेश नभएका योजनाका लागि जेठ र असार १७ गतेसम्म गरी करिब १ अर्ब ६६ करोड रुपैयाँ बराबरका ठेक्का प्रक्रिया अघि बढाइएको दाबी गर्दै त्यसको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाए ।
विपक्षी दलको निरन्तर अवरोधका कारण प्रदेश सभाको बैठक सञ्चालन हुन नसकेपछि सभामुखले बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।