त्रिभुवन राजपथअन्तर्गत पर्ने वीरगंजको मेनरोड (मुख्य सडक) क्षेत्रमा रहेका संरचनामाथि शुक्रबारदेखि फेरि डोजर चलाइएको छ ।
करिब अढाई महिनादेखि रोकिएको मेनरोड विस्तारको काम पुनः सुरु गरिएको हो । गत वैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रमा पर्ने घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो । त्यसपछि सम्बन्धित घरधनीलाई २५ दिनभित्र बाँकी संरचना आफैं हटाउन आग्रह गरिएको थियो । तर अधिकांशले संरचना नहटाएपछि सडक विभागले शुक्रबारदेखि बाँकी संरचना हटाउन थालेको जनाएको छ ।
सडक डिभिजन हेटौंडाका प्रमुख किरण कार्कीका अनुसार शुक्रबारदेखि वीरगंजको गण्डक चोकबाट फेरि डोजर चलाएर सडक सीमा क्षेत्रभित्र रहेका संरचना हटाउन सुरु गरिएको हो । यसअघि असार २ गते सडक डिभिजन हेटौंडाले सूचना जारी गर्दै पाँच दिनभित्र घरधनीले आफैं संरचना खाली नगरे सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्यअन्तर्गत विभागले हटाउने चेतावनी दिएको थियो ।
कार्कीका अनुसार सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने कार्य वैशाख ६ गतेबाट सुरु गरिएको थियो । पहिलो चरणपछि पनि क्षतिग्रस्त भवन घरधनीले नहटाएकाले कानुनी प्रक्रियाअनुसार शुक्रबारदेखि पुनः हटाउन थालिएको हो ।
सडक विभागले पहिलो चरणमा गण्डक चोकदेखि मितेरी पुलसम्म करिब १ हजार २०० घर तथा भवनमा डोजर चलाएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश भवन अझै हटाइएको छैन । उता मेनरोड क्षेत्रका घरधनीहरूले सडक विस्तारको विरोध गर्दै आन्दोलन जारी राखेका छन् ।
बिहीबार पर्सा–१ का सांसद हरि पन्तसहित वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूको टोलीले काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर मेनरोडलाई शहरी मार्ग घोषणा गरी १५/१५ मिटर मात्रै विस्तार गर्न माग गरेको थियो ।
एकातर्फ सडक विभागले कानुनअनुसार सडक सीमा संरक्षणको काम अघि बढाएको जनाएको छ भने अर्कोतर्फ स्थानीयले वैकल्पिक समाधानसहित सडक विस्तार गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् ।