पर्साको वीरगंज बाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट वीरगंजतर्फ शङ्कास्पद रूपमा आउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी इनर्वा, पर्साको टोलीले ती युवकलाई रोकी कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा उनले लगाएको हाफ पाइन्टको पछाडिको खल्तीभित्र लुकाएर राखिएको अवस्थामा ब्राउन सुगरजस्तो देखिने लागुऔषध बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटी निवासी २२ वर्षीय राजन साह तेली रहेका छन् । प्रहरीका अनुसार बरामद गरिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ ०.१६ ग्राम रहेको छ ।
लागुऔषधसहित पक्राउ परेका तेलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।