पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ ।
विशेष सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको २७ केजी गाँजा फेला पारेको हो । प्रहरीका अनुसार राति अन्दाजी २२:५५ बजेको समयमा बिन्दबासिनी गाउँपालिका वडा नं. ४ मधवल नजिकै रहेको बाँसघारीमा उक्त गाँजा फेला परेको हो । प्रसौनीभठ्ठा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (BOP) र प्रहरी चौकी अमरपट्टिबाट खटिएको संयुक्त गस्ती टोलीले उक्त स्थानमा खानतलासी गर्दा बोरा भित्र प्लाष्टिकले बेरिएको अवस्थामा उक्त लागुऔषध गाँजा फेला पारेको थियो ।
फेला पारिएको उक्त २७ केजी गाँजा जस्तो देखिने पदार्थलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।