पर्साको ठोरी गाउँपालिकास्थित नेपाल–भारत सीमाबाट भारतीय नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा शुक्रबारदेखि रोक लगाएपछि ठोरी क्षेत्रको पर्यटन, व्यापार तथा स्थानीय जनजीवन प्रभावित भएको छ ।
सीमा सुरक्षा बल (बिओपी) ठोरीले जिल्ला कमान्डको निर्देशनअनुसार भन्सार प्रक्रिया पूरा नगरेका भारतीय सवारीसाधनलाई सीमाबाटै फर्काउन थालेपछि नेपाल भ्रमणका लागि आएका भारतीय पर्यटक निराश हुँदै फर्किन बाध्य भएका छन् ।
वर्षौंदेखि ठोरी नाका भारतीय पर्यटकका लागि सहज प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको थियो । यही नाकाबाट दैनिक सयौं भारतीय पर्यटक नेपाल प्रवेश गरी स्थानीय होटल, रेस्टुरेन्ट, पसल, यातायात तथा पर्यटन व्यवसायलाई टेवा पुर्याउँदै आएका थिए । तर ठोरीस्थित अमृतभोग (छोटी) भन्सार कार्यालय लामो समयदेखि बन्द रहेकाले भारतीय सवारीसाधनको वैधानिक प्रवेश प्रक्रिया अवरुद्ध भएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार भन्सार कार्यालय सञ्चालनमा रहेको भए भारतीय पर्यटकले आवश्यक राजस्व बुझाएर सहज रूपमा नेपाल प्रवेश गर्न सक्ने थिए । यसबाट सरकारलाई राजस्व संकलन हुने र पर्यटन व्यवसाय पनि प्रभावित नहुने उनीहरूको तर्क छ । तर भन्सार सेवा बन्द हुँदा न सरकारले राजस्व उठाउन सकेको छ, न स्थानीय व्यवसायीले पर्यटकबाट हुने आर्थिक लाभ लिन पाएका छन् ।
भन्सार कार्यालय पुनः सञ्चालनका लागि स्थानीय सरकार, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, पर्यटन व्यवसायी तथा नागरिक समाजले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल हुन नसकेको गुनासो गरिएको छ । व्यवसायीका अनुसार भारतीय पर्यटकको आगमन घटेपछि होटल, रेस्टुरेन्ट, खुद्रा व्यापार, स्थानीय यातायात सेवा तथा कृषि उपजको बिक्रीसमेत प्रभावित हुन थालेको छ ।
स्थानीयवासी तथा पर्यटन व्यवसायीले ठोरीको पर्यटन, व्यापार र समग्र स्थानीय अर्थतन्त्र जोगाउन अमृतभोग (छोटी) भन्सार कार्यालय तत्काल पुनः सञ्चालन गरी भारतीय पर्यटकका लागि कानुनी तथा सहज प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।