मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि विकास निर्देशनालय, मधेश प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार १९ गतेसम्म प्रदेशका आठवटै जिल्लामा कुल ३ लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५.०६ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको हो ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सिरहा जिल्लामा भएको छ भने सबैभन्दा कम सर्लाहीमा भएको छ । सिरहामा ५४ हजार हेक्टरमध्ये २५ प्रतिशत अर्थात् १३ हजार ५०० हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
त्यस्तै सप्तरीमा ६८ हजार हेक्टरमध्ये २४ प्रतिशत अर्थात् १६ हजार ३२० हेक्टरमा धान रोपाइँ सकिएको छ । धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये १५ प्रतिशत अर्थात् ६ हजार ५५५ हेक्टर क्षेत्रमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ । बारामा ४५ हजार १०० हेक्टरमध्ये १३ प्रतिशत अर्थात् ५ हजार ८६३ हेक्टर, महोत्तरीमा ४० हजार हेक्टरमध्ये १२.३७ प्रतिशत अर्थात् ४ हजार ९४८ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये १२ प्रतिशत अर्थात् ६ हजार ४७२.५६ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये ८.५ प्रतिशत अर्थात् ३ हजार २७२.५६ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ भने सबैभन्दा कम सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये ८ प्रतिशत अर्थात् ३ हजार ४१५ हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल ५ लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा प्रत्येक वर्ष धान खेती हुने गर्दछ । बागवानी विकास अधिकृत किरण विश्वकर्माले मनसुन सक्रिय भएसँगै धान रोपाइँले गति लिन थालेको बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा नियमित वर्षा भए रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ ।
पर्याप्त वर्षा भएका जिल्लामा किसान खेत तयारीसँगै रोपाइँमा व्यस्त छन् भने वर्षा कम भएका क्षेत्रमा किसान आकाशे पानीको प्रतीक्षामा रहेका छन् ।