बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा आपूर्ति गरिएको वास्तविक सामग्रीभन्दा फरक विवरण उल्लेख गरी बिल बनाएर भुक्तानी लिएको तथ्य सार्वजनिक भएको छ । घटनापछि विद्यालयको आर्थिक कारोबारमाथि गम्भीर प्रश्न उठेको छ ।
स्थानीयका अनुसार कलैयाका व्यापारी दिपक दास सञ्चालक रहेको ज्योति जेनेरल स्टोरले विद्यालयलाई दिवा खाजा कार्यक्रमका लागि मासु, अण्डा, तरकारी, तेल, मसला, लसुनलगायतका खाद्य सामग्री आपूर्ति गरेको थियो । तर विद्यालयमा पेश गरिएका बिलमा भने चामल, दाल तथा अन्य खाद्यान्नको विवरण उल्लेख गरी भुक्तानी लिइएको पाइएको छ ।
स्थानीय मधु प्रसाद साहका अनुसार विद्यालयमा पेश गरिएका दुईवटा बिलमध्ये एउटामा १९ हजार ७ सय रुपैयाँ र अर्कोमा ८ हजार ८ सय रुपैयाँ उल्लेख छ । दुवै बिलमा ५ बोरा चामल, ४२ किलो दाल तथा अन्य सामग्रीको विवरण राखिएको छ । यसरी कुल २८ हजार ५ सय रुपैयाँ विद्यालयबाट भुक्तानी गरिएको देखिएको छ ।
वास्तविक रूपमा आपूर्ति गरिएका सामग्री र बिलमा उल्लेख गरिएको विवरण नमिलेपछि सरकारी रकम भुक्तानीका लागि फर्जी वा मिलेमतोका बिल प्रयोग गरिएको आशंका गरिएको छ । स्थानीयवासीले यस्तै प्रकृतिको अनियमितता अन्य विद्यालय तथा सार्वजनिक संस्थामा पनि भएको हुन सक्ने भन्दै विस्तृत छानबिनको माग गरेका छन् ।
यस विषयमा ज्योति जेनेरल स्टोरका सञ्चालक दिपक दासले विद्यालयमा मासु, अण्डा, तरकारी, लसुनलगायतका सामग्री आपूर्ति गरिएको स्वीकार गरेका छन् । उनले ती सामग्रीको छुट्टै बिल नबनाई सोही रकम बराबरको चामल, दाल तथा अन्य खाद्यान्नको बिल बनाएर विद्यालयबाट भुक्तानी लिएको स्वीकार गरेका छन् । यता विद्यालयका प्रधानाध्यापक मोतिलाल प्रसाद यादवले बिल लिने प्रक्रियामा त्रुटि भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता कमजोरी नदोहोरिने गरी आवश्यक सुधार गरिने बताएका छन् ।
सरकारी अनुदानमा सञ्चालित दिवा खाजा कार्यक्रम विद्यालयका बालबालिकाको पोषण सुधार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । तर आपूर्ति गरिएका सामग्रीभन्दा फरक विवरणका बिल बनाएर सरकारी रकम भुक्तानी लिएको घटनाले सार्वजनिक वित्तीय अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।