रौतहटमा सशस्त्र प्रहरी बलले तीनवटा मोटरसाइकलसहित झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण मुख्यालय रौतहटबाट खटिएको मोबाइल गस्ती टोलीले माधवनारायण नगरपालिका–१, दिपही क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको कपडा बरामद गरेको हो । सशस्त्र प्रहरीका अनुसार बीआर ०५ यू ३३७१, बीआर ०५ ए ८६६६ र बीआर ०५ ई ३५६४ नम्बरका भारतीय मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको विभिन्न प्रकारका कपडाको अनुमानित मूल्य ११ लाख ९२ हजार ५७० रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरी बल नं. ११ गण रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार गस्ती टोली घटनास्थलमा पुगेपछि तस्करहरू मोटरसाइकल र कपडा छाडेर फरार भएका थिए । बरामद गरिएका कपडा तथा मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको एसपी अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरीले भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार तस्करहरूले नरकटिया–बन्कुल नाका प्रयोग गरी भन्सार छली कपडा नेपाल भित्र्याउने प्रयास गरेको हुन सक्ने अनुमान गरिएको छ ।