आगामी शैक्षिक सत्रदेखि जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिकसँगै संस्थागत (निजी) विद्यालयमा पनि कक्षा १ देखि ८ सम्म मैथिली भाषामार्फत स्थानीय पाठ्यक्रम अनिवार्य रूपमा अध्यापन गराइने भएको छ ।
उपमहानगरपालिकाले स्थानीय इतिहास, भाषा, साहित्य, कला, संस्कृति, धार्मिक सम्पदा तथा मौलिक पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने उद्देश्यले तयार पारेको ‘अप्पन जनकपुरधाम’ स्थानीय पाठ्यक्रम कार्यान्वयनको अन्तिम तयारी पूरा गरेको जनाएको छ । हाल सञ्चालनमा रहेको शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्म उक्त पाठ्यपुस्तक लागू गरिनेछ भने आगामी शैक्षिक सत्रदेखि कक्षा ८ सम्म विस्तार गरिने जनाइएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा पाठ्यक्रमका लेखक डा. हेमप्रसाद साहले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहलाई स्थानीय पाठ्यक्रम औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । पाठ्यक्रम ग्रहण गर्दै नगरप्रमुख साहले जनकपुरधामभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म मैथिली माध्यमबाट स्थानीय पाठ्यक्रम अनिवार्य रूपमा लागू गरिने जानकारी दिए । उनले पाठ्यक्रममार्फत विद्यार्थीले आफ्नै भाषा, इतिहास, संस्कृति तथा धार्मिक एवं सांस्कृतिक सम्पदाबारे तथ्यमा आधारित ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे ।
उनले मैथिली भाषामा आधारित स्थानीय पाठ्यक्रमले विद्यार्थीमा आफ्नो पहिचानप्रति गौरव, अपनत्व र सांस्कृतिक चेतना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा पाठ्यक्रम मस्यौदा एवं लेखन समितिका संयोजक अन्जु पाण्डेका अनुसार स्थानीय सरकार सञ्चालन ऐन तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को व्यवस्थाअनुसार स्थानीय आवश्यकता, भाषा, संस्कृति र पहिचानलाई केन्द्रमा राखेर पाठ्यक्रम तयार गरिएको हो ।
उनका अनुसार पाठ्यक्रममा जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भाषा, साहित्य, कला, चाडपर्व, सामाजिक मूल्य–मान्यता, प्राकृतिक सम्पदा तथा स्थानीय जीवनशैलीसम्बन्धी विषय समावेश गरिएको छ । पाण्डेले स्थानीय ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पाठ्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै चालु शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्म र आगामी शैक्षिक सत्रदेखि कक्षा ८ सम्म पाठ्यपुस्तक कार्यान्वयन गरिने बताए ।
उक्त स्थानीय पाठ्यक्रम शिक्षा शाखा प्रमुख अन्जु पाण्डेको संयोजकत्वमा तयार गरिएको हो । पाठ्यक्रम निर्माणमा श्यामसुन्दर शशि, सुनिल मल्लिक र विनिता ठाकुरले विज्ञका रूपमा योगदान दिएका छन् ।
c