महोत्तरीको गौशाला नगरपालिका–८ भण्टाबारीस्थित ब्रह्मस्थान मन्दिरको सार्वजनिक जग्गामा रहेको मसला (भिस) को रूख काट्ने क्रममा ढल्दा एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान रामबाबु महतोले ठेक्कामा लिएको उक्त रूख उनका २४ वर्षीय छोरा करण महतोले काट्ने क्रममा अनियन्त्रित रूपमा ढलेर बाटोमा हिँडिरहेका स्थानीय ५५ वर्षीय रघुनाथ महतोमाथि खसेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
रूखले लाग्दा रघुनाथ महतोको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल गौशालास्थित एक निजी पोलिक्लिनिकमा पुर्याई प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ । तर अवस्था जटिल भएपछि उनलाई गौशाला नगरपालिका–५ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा हेलिकप्टर अवतरण गराई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि रूखको ठेक्का लिएका रामबाबु महतोलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौशालामा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।