पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा लायन्स क्लब अफ पोखरियाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान, लायन्स क्लब अफ पोखरियाकी उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महिला नेत्री आशा चौहान, विभिन्न राजनीतिक दलका प्रतिनिधि, क्लबका सदस्य तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सो अवसरमा हनुमान मन्दिरको जग्गा नामसारी प्रक्रियामा विशेष पहल गरेका गोरख साह तेलीलाई उनको योगदानको कदरस्वरूप प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले हनुमान मन्दिर परिसरको विकासका लागि प्रदेश सरकारबाट विनियोजित बजेट आपसी विवादका कारण खर्च हुन नसकी फ्रिज हुनु दुःखद भएको उल्लेख गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य, आपसी समझदारी र एकता आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनीहरूले हनुमान मन्दिर परिसरलाई हरियाली, स्वच्छ तथा आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबैको साझा प्रतिबद्धता र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।