सप्तरीमा अपहरणमा परेका ८ वर्षीय एक बालकलाई १० दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ ।
अपहरण घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडा निवासी मोहम्मद कलिमका ८ वर्षीय छोरा मोहम्मद परवेजलाई आइतबार राजविराजबाट सकुशल उद्धार गरिएको हो ।
प्रहरीका अनुसार परवेजलाई १० दिनअघि राजविराजस्थित नेता चोकबाट अपरिचित व्यक्तिले फकाएर अपहरण गरेका थिए । स्थानीय युवा र नेपाल प्रहरीको संयुक्त सक्रियतामा बालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रहरी प्रवक्ता हेमराज घिमिरेका अनुसार अपहरणको आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न व्यक्तिको परिचय भने अनुसन्धानको हितलाई ध्यानमा राख्दै हाल सार्वजनिक नगरिएको उनले बताए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।