मिस नेपाल २०२६ को प्रतिस्पर्धामा मधेश प्रदेशको एकमात्र महानगर वीरगंजबाट श्रेयाशी श्रेष्ठ फाइनल चरणमा छनोट भएकी छन् ।
साइबर सेक्युरिटी विषयमा स्नातक गरेकी २५ वर्षीया श्रेयाशी प्रतियोगितामा २२ नम्बरकी प्रतिस्पर्धीका रूपमा उपाधिको दौडमा रहेकी छन् । वीरगंजकी श्रेयाशी श्रेष्ठको सहभागिताले मधेश प्रदेश, विशेषगरी वीरगंजका युवामा उत्साह थपिएको छ । स्थानीयवासीले उनलाई उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी, मधेश प्रदेशकै सिराहाबाट २३ वर्षीया अरबिशा थापा पनि फाइनल चरणमा छनोट भएकी छन् । उनी प्रतियोगितामा २३ नम्बरकी प्रतिस्पर्धी हुन् ।
यससँगै मधेश प्रदेशबाट दुई जना युवतीले यस वर्षको मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउँदै प्रदेशको प्रतिनिधित्व गरिरहेका छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’का निर्देशक प्रमोद कंशाकारका अनुसार यस वर्षको मिस नेपाल प्रतियोगितामा देशभरबाट छनोट भएका २४ जना फाइनलिस्टबीच विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको छ । फाइनलिस्टहरूले व्यक्तित्व विकास, नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्वकला, सामाजिक उत्तरदायित्व, ग्रुमिङ, फिटनेस, ट्यालेन्ट प्रदर्शन तथा विभिन्न प्रि–कम्पिटिसन गतिविधिमा सहभागिता जनाइरहेका छन् ।
प्रतियोगितामार्फत सहभागीहरूको आत्मविश्वास, नेतृत्व क्षमता, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सक्ने योग्य व्यक्तित्वको विकासमा विशेष जोड दिइएको आयोजकले जनाएको छ ।
यस वर्षको मिस नेपालको मुख्य नारा Top of the World रहेको छ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी अगस्ट १ मा आयोजना हुने तय भएको छ । फिनालेमा विभिन्न उपाधिका साथै विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।