पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गर्दै तस्करीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको स्पोर्ट्स कारसमेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा प्रहरीले आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ अन्तर्गतको भित्री सडक खण्डमा सवारी जाँचका क्रममा भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४ नम्बरको सेतो रंगको स्पोर्ट्स कारलाई शंकाको आधारमा रोकेको थियो ।
प्रहरी चौकी जानकीटोलाबाट खटिएको टोलीले कारको सूक्ष्म खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएका १० वटा पोकाबाट कुल १०२ केजी ६३८ ग्राम लागुऔषध गाँजा बरामद गरेको जनाएको छ । घटनास्थलबाट प्रहरीले कार चालक भारतको बिहार राज्य, पश्चिम चम्पारण (बेतिया) जिल्ला अन्तर्गत नवलपुरका ३२ वर्षीय गुडु बर्मालाई पक्राउ गरेको छ । बरामद गाँजा, सवारी साधन तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै नेपालबाट भारततर्फ हुने लागुऔषध तस्करी नियन्त्रणका लागि पछिल्लो समय विशेष निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ । गोप्य सूचनाका आधारमा सञ्चालन गरिएका निगरानी तथा सवारी जाँच अभियानका क्रममा यो बरामदगी भएको हो । प्रहरीले घटनामा अन्य व्यक्तिहरूको संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा विस्तार गरिएको जनाएको छ । साथै, गाँजाको स्रोत, तस्करीको सञ्जाल र गन्तव्यबारे पनि विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पर्सा प्रहरीले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार, अवैध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि नियमित रूपमा निगरानी र सुरक्षा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।