जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशुचौपाया नियन्त्रणमा कडाइ गर्दै कारबाही प्रक्रिया तीव्र पारेको छ ।
छाडा पशुचौपायाका कारण मानवीय जोखिम तथा सहरी समस्या बढ्दै गएपछि उपमहानगरपालिकाले नियन्त्रण अभियानलाई प्रभावकारी बनाएको हो । उपमहानगरपालिकाले हालसम्म ५ सयभन्दा बढी छाडा पशुचौपाया नियन्त्रणमा लिई वडा नं १२ स्थित गौशालामा राखेको छ । साथै छाडा पशु सडकमा छाड्ने व्यक्तिबाट हालसम्म करिब ७ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन गरिएको जनाएको छ ।
उपमहानगर प्रमुख मनोजकुमार साहका अनुसार पशु सडकमा छाड्ने व्यक्तिलाई रु ५ हजारसम्म जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । उनले छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले कडा कदम चालिएको बताए ।
कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जयकुमार यादवले छाडा पशु व्यवस्थापनलाई स्थानीय तह मात्र नभई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए । उनले प्लास्टिकजन्य फोहोरका कारण पशु स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै फोहोर व्यवस्थापन र प्लास्टिक प्रयोग न्यूनीकरणमा जोड दिए । त्यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनुषाका प्रमुख डा. सञ्जीवकुमार ठाकुरले सडकमा फालिने प्लास्टिकका कारण पशुहरूको पाचन प्रणालीमा समस्या, उत्पादन क्षमतामा कमी र मृत्यु समेत हुन सक्ने खतरा रहेको बताए ।
कार्यक्रममा सहभागीहरूले छाडा पशु व्यवस्थापन, प्लास्टिकजन्य फोहोर नियन्त्रण र सुरक्षित सहरी वातावरण निर्माणका लागि सबै निकायबीच समन्वय र जनसहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।