पर्सा–१ का सांसद हरि पन्तले वीरगंजका क्यासिनोमा नेपाली नागरिकलाई खुला रूपमा प्रवेश गराइएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् । उनले क्यासिनो सञ्चालनमा प्रहरी र प्रशासनको मिलेमतो रहेको जनगुनासो आएको दाबी गर्दै दोषीमाथि कारबाही गर्न पनि आग्रह गरे ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले सदनमा उठाइएका जनसरोकारका विषय सरकारसम्म प्रभावकारी रूपमा नपुगिरहेको गुनासो गरे । उनले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै जनप्रतिनिधिका आवाज कार्यान्वयनतर्फ सरकारले गम्भीर बन्नुपर्ने बताए ।
सांसद पन्तले वीरगंजका अधिकांश तारे होटलमा भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकलाई लक्षित गरी क्यासिनो सञ्चालनमा रहे पनि हाल नेपाली नागरिकलाई पनि सहज रूपमा प्रवेश गराइएको स्थानीयवासीको व्यापक गुनासो रहेको बताए ।
उनका अनुसार क्यासिनोको लतका कारण वीरगंज तथा आसपासका व्यापारी, युवा उद्यमी, मध्यमवर्गीय परिवार तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरू आर्थिक रूपमा समस्यामा परिरहेका छन् । क्यासिनोमा ठूलो रकम गुमाउँदा व्यापार, व्यवसाय, लेनदेन, सामाजिक तथा पारिवारिक सम्बन्धसमेत प्रभावित भएको उनले उल्लेख गरे ।
सांसद पन्तले सभामुखमार्फत सरकार र पर्साको स्थानीय प्रशासनसँग क्यासिनोमा नेपाली नागरिकको प्रवेश पूर्ण रूपमा रोक्न तथा नियम उल्लंघन भएको पाइए सम्बन्धित प्रहरी प्रशासनमाथि समेत कारबाही गर्न माग गरे ।
त्यसैगरी उनले वीरगंज नाका हुँदै भारततर्फ गाँजा र चरेस तस्करी भइरहेको विषय पनि सदनमा उठाए । भारतको रक्सौललगायत सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध बरामद भइरहेका समाचार सार्वजनिक भइरहँदा पर्सा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको उनले बताए ।
सांसद पन्तले सर्वसाधारणले सामान्य सामान ल्याउँदा कडाइ गर्ने तर मुख्य नाकाबाट ठूलो परिमाणमा लागूऔषध तथा अन्य तस्करीका सामान ओसारपसार हुँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको आरोप लगाए ।
केही दिनअघि स्थानीयवासीले गृहमन्त्रीसमक्ष पनि पर्साको सुरक्षा अवस्थाबारे गुनासो गरेको उल्लेख गर्दै उनले त्यसपछि पनि गृह मन्त्रालय मौन बसेको भन्दै प्रभावकारी अनुगमन र आवश्यक कारबाही गर्न सरकारसँग माग गरे ।