बारा | बारास्थित यातायात व्यवस्था कार्यालय, कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यले आफ्नै कार्यालय परिसरमा एक सेवाग्राहीमाथि कुटपिट गरेको भनिएको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै कार्यालय प्रमुखको व्यवहारमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग हुन थालेको छ ।
सार्वजनिक भिडियोमा कार्यालय प्रमुख आचार्यले सेवाग्राहीमाथि हातपात गरेको देखिएको दाबी गरिएको छ । सरकारी कार्यालयका प्रमुखबाट सेवाग्राहीमाथि यस्तो व्यवहार भएको भन्दै सामाजिक सञ्जाल र स्थानीय तहमा तीव्र प्रतिक्रिया देखिएको छ। यस घटनाले सरकारी सेवाप्रवाह, कर्मचारी आचरण र सार्वजनिक निकायप्रतिको विश्वासमाथि गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार घटना हुँदा ट्राफिक प्रहरीसमेत घटनास्थलमा उपस्थित थिए । तर, तत्काल प्रभावकारी हस्तक्षेप नभएको आरोप लगाइएको छ । केही स्थानीयले ट्राफिक प्रहरीले कार्यालय प्रमुखलाई संरक्षण गरेको दाबी गरेका छन्। यद्यपि, यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय वा अन्य सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
यातायात व्यवस्था कार्यालय, कलैया पछिल्ला वर्षहरूमा सेवाप्रवाहमा ढिलासुस्ती, बिचौलियाको प्रभाव तथा सेवाग्राहीलाई अनावश्यक सास्ती दिने आरोपका कारण पटक–पटक विवादमा पर्दै आएको छ । यद्यपि, ती आरोपहरू कानुनी रूपमा पुष्टि भएका छैनन् ।
स्थानीय नागरिक तथा सेवाग्राहीले कार्यालयमा बिचौलियाको सक्रियता र प्रभावकारी निगरानीको अभावका कारण सेवा प्रवाह प्रभावित हुँदै आएको गुनासो गर्दै आएका छन् ।
कार्यालय प्रमुख चिन्तन आचार्यमाथि चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवामा बिचौलियामार्फत प्रभाव जमाउने गरेको आरोप पनि लाग्दै आएको छ । मन्त्रीसँगको निकटता देखाउँदै पुनः यही कार्यालयमा काजमा आउने चर्चा तथा मन्त्रीको नाम प्रयोग गरेर चन्दा असुली गरेको भन्ने सूचनासमेत बाहिर आएका छन्। तर, यी आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन ।
यसैबीच, गत बिहीबार सञ्चालन गरिएको चालक अनुमति पत्रको ट्रायल परीक्षाको नतिजालाई लिएर पनि सेवाग्राहीहरूले प्रश्न उठाएका छन् । परीक्षा प्रक्रिया निष्पक्ष र पारदर्शी थियो वा थिएन भन्ने विषयमा छानबिन हुनुपर्ने मागसमेत गरिएको छ ।
उता, जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढको नेतृत्व प्रहरी निरीक्षक हरि भट्टराईले सम्हालेपछि बाराका नागरिकले ट्राफिक प्रशासनमा सुधारको अपेक्षा गरेका छन् । विगतदेखि नै लाइसेन्स, सवारी दर्ता, नवीकरणलगायतका सेवामा अनावश्यक झन्झट, आर्थिक चलखेल तथा बिचौलियाको प्रभाव रहेको गुनासो दोहोरिँदै आएको छ ।
स्थानीय नागरिकले सरकारी कार्यालयमा सेवाग्राहीमाथि हुने दुर्व्यवहार अन्त्य गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा सेवाग्राहीले सम्मानजनक र सहज रूपमा सरकारी सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।