जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित रामानन्द चोक नजिक साकेतनगरको पक्की सडक ढल निर्माणका लागि भत्काइएपछि स्थानीयवासी, विद्यार्थी, बिरामी तथा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् ।
आर्थिक वर्षको अन्तिम समयमा बर्खायाममै सडक भत्काएर निर्माण कार्य सुरु गरिएकाले स्थानीयले यसलाई ‘असारे विकास’ को उदाहरण भन्दै आलोचना गरेका छन् ।
ढल निर्माणका लागि सडकको बीच भाग भत्काइएपछि वर्षाको पानी र हिलो जमेर दैनिक सवारीसाधन फस्ने गरेका छन् । सडकको दुरावस्थाका कारण स्थानीयवासी मात्र होइन, धार्मिक पर्यटक, विद्यालय जाने विद्यार्थी तथा अस्पताल पुग्ने बिरामीसमेत प्रत्यक्ष प्रभावित भएका छन् ।
यही सडक प्रयोग गर्ने एन्जल्स बोर्डिङ स्कुलका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले दैनिक हिलो र पानी पार गर्दै विद्यालय पुग्नुपर्ने बाध्यता रहेको छ । पानी परेपछि विद्यार्थी जुत्ता–मोजा खोलेर हिँड्न बाध्य हुने, कतिपय विद्यार्थी बीच बाटोबाटै घर फर्किने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक कामेश्वर यादवले बर्खाको समयमा सडक भत्काएर निर्माण कार्य गर्नु अव्यवहारिक भएको बताए । उनका अनुसार यस्ता काम हिउँदमा सम्पन्न गरिएको भए स्थानीयले दुःख पाउनु पर्ने थिएन। उनले विकास निर्माणको नाममा नागरिकलाई अनावश्यक सास्ती दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
सडककै दुरावस्थाका कारण विद्यालयमा विद्यार्थीको उपस्थितिसमेत प्रभावित भएको छ भने शिक्षक–शिक्षिकाले पनि आवतजावतमा समस्या भोगिरहेका छन् ।
यही सडक खण्डमा रहेको जनकपुर मोडेल अस्पतालमा उपचारका लागि आउने बिरामी पनि समस्यामा परेका छन् । उपचारका लागि कुर्थाबाट आएकी रमिला देवीले राम्रो अवस्थामा रहेको सडक भत्काएर पुनः निर्माण गर्नु विकासभन्दा पनि बजेट खर्च गर्ने माध्यम बनेको टिप्पणी गरिन् ।
स्थानीय रामसेवक कोइरीले पनि आर्थिक वर्षको अन्त्यमा मात्र विकास निर्माणको चटारो देखाएर जनतालाई दुःख दिने काम दोहोरिने गरेको गुनासो गरे । उनले विकासभन्दा पनि बजेट सक्ने प्रवृत्तिका कारण जनताले अनावश्यक सास्ती भोग्नुपरेको बताए ।
.jpg)
.jpg)
.jpg)