सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुखसहित दुई कर्मचारी घुस रकम लिँदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को इटहरी कार्यालयबाट खटिएको टोलीले केन्द्रका निमित्त प्रमुख डा. रामपवित्र दास र उनका सवारी चालक भागेन्द्र यादव लाई सोमबार पक्राउ गरेको हो ।
आयोगका अनुसार केन्द्रमा करारमा कार्यरत भ्याक्सिनेटरहरूले आफूहरूले काम गरेबापत पाउनुपर्ने पारिश्रमिकबाट २० प्रतिशत ‘कमिसन’ मागिएको भन्ने विशेष सूचनाका आधारमा निगरानी गरिएको थियो ।
प्रहरी नायब उपरीक्षक अनमोल खड्का को नेतृत्वमा खटिएको टोलीले निमित्त प्रमुख डा. दासकै कार्यकक्षमा सवारी चालक यादवले भ्याक्सिनेटरहरूबाट घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।
कारबाहीका क्रममा घुसस्वरूप लिइएको ३३ हजार ३ सय ५० रुपैयाँ तथा स्रोत नखुलेको थप ४८ हजार ७० रुपैयाँ गरी जम्मा ८१ हजार ४ सय २० रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ ।
त्यसैगरी, फरक–फरक रकम उल्लेख भएका पाँच थान चेक र दुवै जनाको एक–एक थान मोबाइल फोन पनि बरामद गरिएको छ ।
अख्तियारले घुस रकम, चेक तथा अन्य प्रमाणका आधारमा निमित्त प्रमुख डा. दास र सवारी चालक यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।