कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पर्साको बहुदरमाई नगरपालिका–५, भौराटारस्थित श्री नेपाल राष्ट्रिय सीताराम माध्यमिक विद्यालयका विद्यार्थीलाई १५० थान विद्यालय झोला तथा विद्यालयलाई एक थान आरओ (RO) वाटर फिल्टर हस्तान्तरण गरेको छ ।
स्थानीय युवा नेता जय साहको पहल तथा समन्वयमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बहुदरमाई–५ का वडाध्यक्ष सुनील महतो कोइरी, कुमारी बैंकका प्रदेश प्रमुख अंकित पाण्डेय, सञ्चालन प्रमुख रञ्जित यादव, बैंकका कर्मचारी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कुमारी बैंकका प्रदेश प्रमुख अंकित पाण्डेयले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्र र समुदायबीचको सहकार्यले सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने उनले बताए ।
बहुदरमाई–५ का वडाध्यक्ष सुनील महतो कोइरीले विद्यालय र विद्यार्थीका लागि आवश्यक सामग्री उपलब्ध गराएकोमा कुमारी बैंकप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन पहल तथा समन्वय गरेका युवा नेता जय साहलाई धन्यवाद दिए ।
विद्यालयका प्रधानाध्यापक सञ्जय महतोले विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउने विद्यालय झोला तथा विद्यालयमा स्वच्छ पिउने पानीको सुविधा सुनिश्चित गर्न आरओ वाटर फिल्टर उपलब्ध गराएकोमा कुमारी बैंकप्रति कृतज्ञता व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन समन्वय गरेकोमा जय साहको पनि प्रशंसा गरे ।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै युवा नेता जय साहले समुदायको आवश्यकता पहिचान गरी निजी क्षेत्र, स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य बढाउनु समयको आवश्यकता रहेको बताए । शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवासँग सम्बन्धित क्षेत्रमा आगामी दिनमा पनि यस्ता सामाजिक पहललाई निरन्तर अघि बढाउने प्रयास रहने उनले बताए ।
वितरण गरिएको विद्यालय झोलाले विद्यार्थीलाई अध्ययन सामग्री बोकेर विद्यालय आउन सहज हुने तथा आरओ वाटर फिल्टरमार्फत विद्यालयमा स्वच्छ पिउने पानीको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले पनि समुदायको आवश्यकता पहिचान गरी गरिएको यस्तो सामाजिक सहकार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।