रौतहटको गरुडा नगरपालिकाबाट प्रहरीले एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ बिर्ता निवासी अन्दाजी ४२ वर्षीय सदरे आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार २२ गते गरुडा नगरपालिका–५ स्थित झाझपुलमा रहेको गौतम सहनीको मदिरा पसलमा शङ्कास्पद अवस्थामा फेला परेका आलमलाई खानतलासी गर्दा उनको कम्मरमा भिरेको अवस्थामा एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोल बरामद भएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका आलमसँग असार २३ गते थप अनुसन्धान तथा सोधपुछ गर्दा उनले मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङभित्र अन्य हातहतियार र रकम लुकाएको बताएका थिए ।
उनकै बयानका आधारमा प्रहरीले उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, कालो पर्सभित्र लुकाइएको २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ तथा २ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको जनाएको छ ।
प्रहरीले पक्राउ परेका आलममाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।