महोत्तरी प्रहरीले अवैध सालको काठसहित वन तस्करीमा प्रयोग भएको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्लाको गौशाला नगरपालिका–११ स्थित ढोलन खोला क्षेत्रबाट प्रहरीले काठ लोड गरिएको ज १ त २५२६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । ढोलन खोला तथा आसपासका वन क्षेत्रमा काठ तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी चौकी कान्तिबजारबाट मंगलबार बिहान गस्ती टोली परिचालन गरिएको थियो । प्रहरी टोलीलाई देखेपछि ट्याक्टर चालक सवारीसाधन छाडेर फरार भएका थिए ।
चालक फरार भए पनि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिन सफल भएको जनाएको छ । ट्याक्टरबाट २५ दशमलव २८ क्युफिट बराबरका ११ थान सालका काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार बरामद काठ र ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लक्ष्मिनियास्थित सब–डिभिजन वन कार्यालयमा बुझाइएको छ । बरामद काठ वन क्षेत्रको कुन स्थानबाट चोरी गरिएको हो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार चालकको खोजी तीव्र बनाएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी गोलेले जानकारी दिनुभयो ।