बारा | पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जको कोर क्षेत्रमा १६६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपाली सेनाको श्री सबुज गणअन्तर्गत सुरक्षा पोस्ट प्रतापपुरबाट सोमबार खटिएको गस्ती टोलीले मकवानपुरको चुरे क्षेत्रअन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रस्थित बगई खोलानजिकबाट १६६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३, पलासे निवासी ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन् ।
बरामद गरिएको गाँजा तथा पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको संरक्षित क्षेत्र हो। दुर्गम भौगोलिक बनोटका कारण निकुञ्जका केही क्षेत्र विगतदेखि गाँजालगायत लागूऔषध ओसारपसार गर्ने समूहले प्रयोग गर्ने मार्गका रूपमा उपयोग गर्दै आएको स्थानीयवासीको भनाइ छ ।
सुरक्षा निकायले निकुञ्ज क्षेत्र हुँदै हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ ।