जनकपुरधाम | मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाहीको लालबन्दीस्थित होटलहरूमा आकस्मिक अनुगमन गर्दै खाद्य गुणस्तर र सरसफाइमा विशेष ध्यान दिन व्यवसायीलाई निर्देशन दिएका छन् ।
मंगलबार गृहजिल्ला सर्लाही पुगेका मन्त्री महतोले लालबन्दी बजारका विभिन्न होटलको भान्सामै पुगेर खाद्य सामग्रीको गुणस्तर, सरसफाइ तथा सेवाप्रवाहको अवस्था निरीक्षण गरेका हुन्। अनुगमन साँझसम्म निरन्तर सञ्चालन गरिएको थियो ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतोले अधिकांश होटलमा सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने गरेको तथा भान्साको सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइएको बताए। उनका अनुसार केही होटलमा खाद्य सामग्रीको भण्डारण तथा व्यवस्थापनसमेत सन्तोषजनक नरहेको भेटिएको छ ।
मन्त्री स्वयं बजारमा पुगेर अनुगमन गरेपछि स्थानीयवासीले यसको स्वागत गरेका छन्। यद्यपि, अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
शासापुर–२ निवासी अशोक झाले अनुगमन सकारात्मक भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नै मुख्य विषय रहेको बताए । उनले समय–समयमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने व्यवसायीमाथि आवश्यक कारबाही हुनुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, लालबन्दी–२ निवासी सुनिल पोखरेलले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्न नहुने भन्दै केही होटलमा सरसफाइको अभाव र बासी खाना बिक्री हुने गरेको गुनासो गरे । उनले मन्त्री महतोको पहलको प्रशंसा गर्दै स्थानीय तहले पनि यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए ।
मन्त्री महतोले सर्लाहीमा मात्र नभई मधेस प्रदेशभरका होटल तथा खाद्य व्यवसायमा अनुगमन अभियान सञ्चालन गरिने जानकारी दिए । उनले सबै होटल व्यवसायीलाई खाद्य गुणस्तर, सरसफाइ र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गर्दै कानुनी मापदण्डको पूर्ण पालना गर्न सचेत गराएका छन् ।