सिरहा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा मंगलबार कर्जन्हा नगरपालिका–४ बाट यादवलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक सःमिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको सहजीकरण गरिदिने नाममा प्रतिट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागिएको थियो । सेवाग्राहीले यसबारे अख्तियारमा उजुरी दिएपछि आयोगले योजनाबद्ध रूपमा ‘स्टिङ अपरेसन’ सञ्चालन गरी यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।
हाल घटनास्थलमा मुचुल्का तयार गर्ने तथा प्रमाण संकलन गर्ने कार्य भइरहेको अख्तियारले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको आयोगको भनाइ छ ।
यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख बेचन चौधरीले घटनाबारे भर्खरै जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन् । उनले घुस कुन प्रयोजनका लागि र कसरी लिइएको भन्ने विषयमा थप जानकारी संकलन भइरहेको बताएका छन् ।
अख्तियारले घटनाको अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।