महोत्तरी | महोत्तरीका दुई चिनी उद्योगमा उखु बिक्री गरेका किसानले करिब १ अर्ब ७७ करोड रुपैयाँ भुक्तानी पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको अधिकांश रकम किसानलाई भुक्तानी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८२/८३ को उखु क्रसिङ याममा दुवै उद्योगमा किसानले २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु बिक्री गरेका थिए ।
उक्त उखुको कुल मूल्य १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँ निर्धारण गरिएकोमा हालसम्म १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानलाई भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। बाँकी रकम पनि छिट्टै भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच, सरकारले उपलब्ध गराउने उखु किसान प्रोत्साहन अनुदानबापतको रकम भुक्तानीका लागि जिल्ला भुक्तानी समितिले कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीमा सिफारिस गरेको छ । समितिले २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ अनुदान रकम भुक्तानीका लागि सिफारिस गरेको प्रशासकीय अधिकृत यादवले जानकारी दिए ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने जिल्ला भुक्तानी समितिले उखुको मूल्य तथा अनुदान भुक्तानीसम्बन्धी समन्वय गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले उखुको बाँकी मूल्य र सरकारी अनुदान रकमसमेत चालु आर्थिक वर्षको असार मसान्तभित्र किसानको खातामा उपलब्ध गराउने लक्ष्य रहेको जनाएको छ ।