रोटरी क्लब अफ बर्दीबासले नेपाल रेडक्रस सोसाइटी बर्दीबास उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक ब्लड कम्पोनेन्ट सेपरेटर (रक्त अवयव छुट्याउने मेसिन) हस्तान्तरण गरेको छ ।
मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, बर्दीबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री तथा रोटरीका केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा भारतको ग्रेटर तेजपुर रोटरी क्लबको संयुक्त पहलमा प्राप्त उक्त मेसिनसहित सात प्रकारका स्वास्थ्य सामग्री मङ्गलबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री थापा, नगरप्रमुख क्षेत्री, रोटरीका निवर्तमान गभर्नर विनोद कोइराला तथा कृष्णप्रसाद गौतमलगायत वक्ताहरूले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा रोटरी क्लब अफ बर्दीबासले पुर्याएको योगदानको प्रशंसा गरे। उनीहरूले रक्तसञ्चार सेवालाई थप प्रभावकारी र दिगो बनाउन सरकारी निकाय, सामाजिक संस्था तथा समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
नयाँ मेसिन सञ्चालनमा आएपछि बर्दीबासस्थित रक्तसञ्चार केन्द्रबाट प्रदान गरिने सेवा थप प्रभावकारी, गुणस्तरीय र सहज हुने अपेक्षा गरिएको छ । यसबाट महोत्तरीसँगै छिमेकी सर्लाही र सिन्धुली जिल्लाका बिरामीहरूले प्रत्यक्ष लाभ पाउने विश्वास गरिएको छ । वि.सं. २०७३ सालदेखि सञ्चालनमा रहेको बर्दीबास रक्तसञ्चार केन्द्रले हाल वार्षिक दुई हजारभन्दा बढी युनिट रगत आपूर्ति गर्दै आएको छ । तर प्लेटलेट्स तथा अन्य रक्त अवयवको वार्षिक करिब एक हजार पाँच सय युनिट आवश्यकता भए पनि आवश्यक उपकरणको अभावका कारण सेवा विस्तार गर्न सकिएको थिएन ।
रोटरी क्लब अफ बर्दीबासका अध्यक्ष इन्द्रप्रसाद ढुङ्गेल (सीताराम) ले तीन वर्षको निरन्तर प्रयासपछि अत्याधुनिक ब्लड कम्पोनेन्ट सेपरेटर हस्तान्तरण गर्न सफल भएकोमा गौरव र सन्तुष्टि व्यक्त गरे । उनका अनुसार नयाँ प्रविधियुक्त उक्त मेसिनले दाताबाट सङ्कलन गरिएको होल ब्लडलाई रातो रक्तकोष, प्लाज्मा र प्लेटलेट्सलगायत विभिन्न रक्त अवयवमा छुट्याउन सक्षम छ । यसबाट एउटै रक्तदानबाट तीन जनासम्म बिरामीको उपचारमा सहयोग पुग्ने भएकाले बर्दीबास क्षेत्रका लागि यो महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी बर्दीबास उपशाखाका सभापति भुवन खड्काले हालसम्म प्लेटलेट्स, प्लाज्मालगायत रक्त अवयव आवश्यक पर्दा बिरामी तथा उनीहरूका आफन्तले जनकपुर, वीरगञ्ज वा काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार कम्पोनेन्ट सेपरेटर सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ ।
प्राविधिक व्यवस्थापनका केही प्रक्रिया पूरा गर्न बाँकी रहेकाले आगामी साउन १ गतेदेखि रक्तसञ्चार केन्द्रबाट प्लेटलेट्स, प्लाज्मालगायत रक्त कम्पोनेन्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु गरिनेछ ।