भारतीय बजारबाट रासायनिक मल नेपालतर्फ ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई तस्करीको आरोपमा बिहार प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही सदरमुकाम नजिकै रहेको भारतीय बजार सोनवर्षाबाट रासायनिक मल ल्याउँदै गरेका उनीहरूलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिई स्थानीय प्रहरीको जिम्मा लगाएको हो । उनीहरूलाई करिब ६ दिनअघि पक्राउ गरिएको बताइएको छ । सोनवर्षा थाना प्रमुख इन्स्पेक्टर धर्मेन्द्र कुमारका अनुसार पक्राउ पर्नेमा नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंह रहेका छन् ।
इन्स्पेक्टर कुमारले भने, “उनीहरूले गैरकानुनी रूपमा मल लिएर गइरहेका बेला एसएसबीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।” प्रहरीका अनुसार सिंहद्वयले आठ बोरा रासायनिक मल नेपालतर्फ लैजाँदै गरेका थिए। पक्राउपछि उनीहरूलाई स्थानीय अदालतमा उपस्थित गराइएको भारतीय प्रहरीले जनाएको छ ।
यसैबीच, सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीले दुवै नेपाली नागरिकलाई अदालतमा उपस्थित गराइएको जानकारी प्राप्त भएको बताए । उनका अनुसार हाल उनीहरूमाथि अदालती प्रक्रिया चलिरहेको छ र धरौटीमा रिहा हुने सम्भावना रहेको छ ।
अधिकारीले भने, “उता अदालती प्रक्रिया चलिरहेको छ । हामीलाई प्राप्त जानकारीअनुसार उनीहरू धरौटीमा छुट्ने सम्भावना रहेको छ ।”