पर्साको ठोरी गाउँपालिका बजारमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको प्रवेश मंगलबारदेखि पुनः सुचारु भएको छ । असार १९ गतेदेखि लागू गरिएको प्रवेश प्रतिबन्ध हटाइएपछि स्थानीय व्यवसायी, पर्यटन क्षेत्र तथा सर्वसाधारणमा उत्साह छाएको छ ।
भारतीय सवारीसाधनको प्रवेश रोकिएपछि सीमावर्ती क्षेत्रको व्यापार, होटल व्यवसाय तथा पर्यटन गतिविधिमा प्रत्यक्ष असर परेको थियो । प्रतिबन्ध हटेसँगै भारतीय पर्यटकको आवागमन पुनः बढ्ने र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा लगाइएको रोक हटाउन विभिन्न तहबाट पहल गरिएको थियो। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद टेकबहादुर शाक्यले ठोरी तथा भिस्वा–जानकीटोला नाकाबाट भारतीय सवारीसाधनको प्रवेश रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या तत्काल समाधान गर्न माग गर्नुभएको थियो ।
यसैगरी, ठोरीका पर्यटन व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै भारतीय सवारीसाधनको प्रवेश व्यवस्था पुनः सञ्चालन गर्न आग्रह गरेको थियो ।
विभिन्न पक्षको पहल र सम्बन्धित निकायबीचको समन्वयपछि भारतीय चारपाङ्ग्रे सवारीसाधनको प्रवेश पुनः सहजीकरण गर्ने सहमति भएको हो ।
भन्सार कार्यालयका अनुसार भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएपछि ठोरी बजार तथा आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गर्न सक्नेछन् ।
यसैक्रममा मंगलबार बीआर २२ पीए ०३९२ नम्बरको भारतीय चारपाङ्ग्रे सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएर ठोरी बजारमा प्रवेश गरेको छ । पुनः सञ्चालन भएको व्यवस्थाअन्तर्गत यो पहिलो भारतीय सवारीसाधन भएको जनाइएको छ ।
स्थानीय व्यवसायीहरूले भारतीय पर्यटकको आगमन पुनः सुरु भएसँगै होटल, रेस्टुरेन्ट, व्यापार–व्यवसाय तथा पर्यटन क्षेत्रले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् । सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन र ठोरीको पर्यटन प्रवर्द्धनमा यो निर्णय महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।