असार महिनामा झमझम वर्षा भएर खोलानाला भरिभराउ हुनुपर्ने समयमा यस वर्ष सर्लाहीमा भने वर्षा अभावका कारण अधिकांश खोला सुक्खा बनेका छन् । पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने किसानहरू चिन्तित बनेका छन् ।
काठमाडौँ क्षेत्रबाट बगेर आउने पानीका कारण बागमती नदीमा केही मात्रामा बहाव कायम रहे पनि जिल्लाको चुरे क्षेत्रबाट उत्पत्ति भएका अधिकांश खोलामा पानीको सतह निकै घटेको छ । चुरेफेदीसम्म आउने सीमित पानीसमेत किसानका खेतसम्म पुग्न नसक्दा सिँचाइमा समस्या उत्पन्न भएको छ ।
पछिल्ला केही दिनदेखि आकाश धुम्मिए पनि सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा हुन सकेको छैन । खोलामा पानीको अभाव भएपछि कुलो तथा नहरमार्फत सिँचाइ हुने जिल्लाको उत्तरी भेगमा धान रोपाइँले गति लिन सकेको छैन । ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुरलगायतका क्षेत्रमा किसानहरूले खोलाको पानी कुलो र नहरमार्फत खेतमा पुर्याएर खेती गर्दै आएका छन् । तर यस वर्ष खोलामै पानी नहुँदा खेतीपाती प्रभावित भएको किसानहरूको गुनासो छ ।
ईश्वरपुर नगरपालिका–१२ घारिबथानका किसान रामजी थापाले कुलोमा आएको थोरै पानीले रोपिएको धान जोगाउनसमेत कठिन भएको बताउनुभयो । उहाँका अनुसार असार सकिन लाग्दासमेत पर्याप्त वर्षा नहुँदा धेरै खेत अझै बाँझै रहेका छन् । यस्तै, लालबन्दी नगरपालिका–१७ रानीगन्जका किसान पवन भट्टराईले पम्पसेटबाट सिँचाइ गरेर धान रोपे पनि वर्षा नहुँदा खेत छिट्टै सुक्ने र धाजा फाट्न थालेको बताउनुभयो । उहाँले पटक–पटक सिँचाइ गर्नुपर्दा लागतसमेत बढेको उल्लेख गर्नुभयो ।
आकाशे वर्षामा निर्भर रहेका क्षेत्रमा धानको ब्याड जोगाउनसमेत समस्या देखिएको छ । बेलाबेलामा हुने सामान्य वर्षाले मात्रै रोपाइँका लागि आवश्यक पानी नपुग्ने किसानहरूको भनाइ छ । समयमै पर्याप्त वर्षा नहुँदा किसान निराश बनेका छन् । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार हालसम्म जिल्लामा करिब ३० प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीका सूचना अधिकारी तथा बाली विकास अधिकृत कविन्द्रसिंह ठगुन्नाले सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ भइरहेको भए पनि आकाशे वर्षामा निर्भर क्षेत्रहरूमा वर्षा अभावका कारण रोपाइँ अघि बढ्न नसकेको बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष सर्लाहीमा धान रोपाइँ हुने क्षेत्रफलसमेत घट्न सक्ने अनुमान गरिएको छ । जिल्लामा करिब ४२ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ ।