सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्दै गोली प्रहार भएको छ। बुधबार राति लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा अज्ञात समूहले मोबाइल पसल सञ्चालकमाथि आक्रमण गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रसाद गौतमका अनुसार लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी–९ बस्तीपुरका हरिप्रसाद सापकोटामाथि राति करिब ८ बजेपछि लुटपाटको प्रयास भएको हो।
सापकोटा पसल बन्द गरेर एक जना साथीसँग मोटरसाइकलमा घर फर्किंदै गर्दा अर्को मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले बाटो छेकेर लुटपाटको प्रयास गरेका थिए। सो क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरेको छ। गोली प्रहार भए पनि सापकोटा र उहाँसँगै रहेका व्यक्ति दुवै सुरक्षित रहेको डीएसपी गौतमले जानकारी दिनुभयो।
घटनापछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा थप प्रहरी टोली लालबन्दी पुगेको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजीका लागि बिहीबार बिहानसम्म खोजी अभियान सञ्चालन गरे पनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।
मोबाइल व्यवसायीमाथि लुटपाटको उद्देश्यले गोली प्रहार भएपछि लालबन्दी क्षेत्रका व्यवसायी तथा स्थानीयवासीमा त्रास बढेको छ। स्थानीय जनप्रतिनिधिले समेत सुरक्षाको अवस्था सुधार गर्न माग गरेका छन्।