बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ अमाडारमा एक युवतीमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा एक युवक स्थानीयको कुटपिटबाट घाइते भएका छन् ।
घाइते हुनेमा वीरगंज महानगरपालिका–२८ निवासी ३४ वर्षीय अजय सहनी रहेका छन् । स्थानीयका अनुसार सहनीले बुधबार साँझ अमाडारकी १९ वर्षीया युवतीलाई जबरजस्ती खोलातर्फ लगेर पछार्ने तथा घाँटी थिच्ने प्रयास गरेका थिए । घटनास्थलमा युवतीमाथि दुर्व्यवहार भइरहेको देखेपछि आक्रोशित स्थानीयले सहनीलाई नियन्त्रणमा लिएर बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको बताइएको छ ।
कुटपिटबाट घाइते भएका सहनीलाई प्रारम्भिक उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । उनको शरीरमा भित्री चोट देखिएकाले प्रहरी निगरानीमा उपचार भइरहेको छ । यता, घटनामा संलग्न भनिएकी १९ वर्षीया युवती पनि घाइते भएकी छन् । प्रहरीका अनुसार उनको घाँटी सुन्निएको छ र उनको पनि नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।