दुई महिनादेखि तलब नपाएको भन्दै वीरगंज महानगरपालिकाका दैनिक ज्यालादारी, करार तथा केही स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनरत कर्मचारीले महानगरपालिकाको लेखा शाखामा तालाबन्दी गर्दै सबै कर्मचारीको समान रूपमा तलब भुक्तानी गर्न माग गरेका छन् । महानगरको आन्तरिक राजस्व संकलन अपेक्षाअनुसार हुन नसकेपछि स्थायी कर्मचारीलाई मात्र एक महिनाको तलब दिने तयारी भइरहेको जानकारी पाएपछि अन्य कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरूले करार, दैनिक ज्यालादारी (डोर हाजिर) र स्थायी सबै कर्मचारीलाई समान व्यवहार गर्दै जेठ महिनासम्मको तलब तत्काल उपलब्ध गराउन माग गरेका छन्।
वीरगंज महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउतका अनुसार स्थायी कर्मचारीको जेठ महिनाको तलब भुक्तानीका लागि आवश्यक भौचर तयार भइसकेको थियो । महानगरपालिकामा कर्मचारीको मासिक तलब तथा भत्तामा करिब ३ करोड ८६ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए ।
स्थायी कर्मचारीका लागि मात्रै करिब १ करोड ७० लाख रुपैयाँ बराबरको तलब भुक्तानीको तयारी गरिएको थियो । तर आन्दोलनरत कर्मचारीले सबै तहका कर्मचारीको तलब भुक्तानीको सुनिश्चितता नभएसम्म लेखा शाखाको तालाबन्दी नखोल्ने अडान लिएका छन् ।
तालाबन्दीपछि वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले आन्दोलनरत कर्मचारीसँग छलफल गर्दै समस्या समाधानको प्रयास गरेका छन् । कर्मचारीले भने तत्काल तलब भुक्तानीको स्पष्ट प्रतिबद्धता माग गरेका छन् ।