वीरगंजमा करिब तीन वर्षअघि किस्ताबन्दीमा विभिन्न सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको ‘अभियान डिजिटल वर्ल्ड’ विरुद्ध करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
संस्थाका सञ्चालकहरू सदस्यबाट रकम संकलन गरेपछि सम्पर्कविहीन भएको भन्दै सयौँ सेवाग्राही तथा बजार प्रतिनिधिहरूले कानुनी कारबाहीको माग गरेका छन् ।
पीडितहरूका अनुसार संस्थाले प्रत्येक सदस्यबाट रु. ३१ हजार ७२५ का दरले रकम संकलन गरेको थियो । केही सदस्यलाई करिब रु. १२ देखि १५ हजार बराबरका सामग्री उपलब्ध गराइए पनि अधिकांश सदस्यले तीन वर्ष बितिसक्दा पनि कुनै सामान नपाएको गुनासो गरेका छन् ।
पीडितहरूले संस्थाका सञ्चालक दिपेश बर्नवाल, सुशील सर्राफ र विष्णु काफ्ले रकम संकलन गरेपछि सम्पर्कविहीन भएको आरोप लगाएका छन् । संस्थाका अर्का साझेदार ऋषिकान्त गुप्ता वीरगंजमै रहे पनि पीडितहरूको समस्या समाधान तथा सामान वितरणका लागि कुनै पहल नगरेको उनीहरूको भनाइ छ ।
त्यस्तै, संस्थाका लेखापाल तथा सञ्चालक दिपेश बर्नवालका छोरा योगेश बर्नवाल विरुद्ध पनि उजुरी दर्ता गरिएको एक बजार प्रतिनिधिले जानकारी दिएका छन् ।
पीडितहरूका अनुसार सञ्चालकहरूबीचको मतभेद र आर्थिक अनियमितताका कारण संस्थाको काम पूर्ण रूपमा प्रभावित भएको हो । त्यसको प्रत्यक्ष असर सेवाग्राहीमाथि परेको उनीहरूको दाबी छ। हजारौँ सदस्यबाट रकम संकलन गरिए पनि प्रतिबद्धताअनुसार सामान उपलब्ध नगराइएको उनीहरूले बताएका छन् ।
संस्थासँग आबद्ध बजार प्रतिनिधिहरूले पनि आफूहरू ठगिएको बताएका छन् । संस्थाप्रति विश्वास गरेर सर्वसाधारणलाई सदस्य बनाएको तर अहिले सामान नपाएका सेवाग्राहीबाट गालीगलौज, धम्की तथा मानसिक तनाव झेल्नुपरेको उनीहरूको गुनासो छ । आफूहरूले संकलन गरेको रकम र वितरण हुनुपर्ने सामानको समेत कुनै स्पष्ट विवरण नपाएको उनीहरूले बताएका छन् ।
यसैबीच, पीडित सेवाग्राही र बजार प्रतिनिधिहरूले आफूहरूबाट संकलन गरिएको रकम फिर्ता गराइदिन तथा घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा सामूहिक उजुरी दर्ता गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनाको वास्तविक अवस्था, पीडितको संख्या तथा आर्थिक क्षतिको यकिन विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।