बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि सुरु गरेको आन्दोलन सहमतिपछि स्थगित भएको छ । कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र आन्दोलनरत कर्मचारीबीच भएको छलफलपछि सहमति जुटेसँगै महानगरका सम्पूर्ण सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन् ।
स्थानीय निकाय कर्मचारी संघ (एमाले) निकट वीरगंज महानगर एकाइका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको तलब तत्काल उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेका थिए । आन्दोलनका कारण केही समय महानगरको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो ।
छलफलका क्रममा हालका लागि जेठ महिनाको तलब तत्काल निकासा गर्ने सहमति भएको जनाइएको छ । उक्त सहमतिपछि आन्दोलनरत कर्मचारीहरूले आन्दोलन स्थगित गरी नियमित काममा फर्किएका छन् ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले कर्मचारीका मागप्रति महानगर संवेदनशील रहेको बताउँदै तलब निकासाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले आन्दोलन पूर्वसूचना र आवश्यक प्रक्रियाबिनै गरिनु उचित नभएको उल्लेख गर्दै संवादमार्फत समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे। आन्दोलनको पछाडि राजनीतिक उद्देश्य हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् ।
निलम्बित मेयर राजेशमान सिंहको कार्यकालमा स्थायी कर्मचारीहरूले चार महिना र करारका कर्मचारीहरूले पाँच महिनासम्म तलब पाएका थिएनन् । त्यसबेलाको आर्थिक अव्यवस्था र प्रशासनिक उदासीनताका कारण कर्मचारीहरू लामो समयसम्म तलबविहीन हुन बाध्य भएका थिए । कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै इम्तियाज आलमले उक्त समस्या समाधानतर्फ पहल गरेका थिए । उनले जिम्मेवारी सम्हालेपछि स्थायी कर्मचारीहरूको तीन महिनाको र करारका कर्मचारीहरूको चार महिनाको लामो समयदेखि रोकिएको बक्यौता तलब यही महिनामै निकासा गराएर कर्मचारीहरूलाई राहत प्रदान गरेका थिए ।
महानगरका अनुसार यसअघि रोकिएको स्थायी तथा करार कर्मचारीहरूको बक्यौता तलबमध्ये अधिकांश रकम कार्यवाहक प्रमुख आलमको कार्यकालमा निकासा गरिएको छ भने बाँकी रकम पनि क्रमिक रूपमा भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सहमतिसँगै महानगरका प्रशासनिक सेवा, राजस्व संकलन तथा अन्य दैनिक सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन् ।