वीरगंज महानगरपालिकामा जारी सडक विस्तारका क्रममा नालामा थुप्रिएको मलबाका कारण शुक्रबार राति परेको वर्षापछि सहरका विभिन्न चोक जलमग्न भएका छन् । नाला अवरुद्ध हुँदा वर्षाको पानी निकास हुन नसकेपछि मुडली चोक, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्र डुबानमा परेका हुन् ।
सडक विस्तारका क्रममा घर भत्काउँदा निस्किएको ढुङ्गा, इँटा, माटो तथा अन्य भग्नावशेष समयमै व्यवस्थापन हुन नसक्दा अधिकांश नाला जाम भएको स्थानीयको गुनासो छ । त्यसका कारण रातिको वर्षाले सहरका मुख्य सडक र चोकहरू जलमग्न बनेका थिए ।
समस्या समाधानका लागि वीरगंज महानगरपालिकाले शुक्रबार बिहानैदेखि पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन गरेको छ । एक्सन टिमका संयोजक सरफुदिन मियाको नेतृत्वमा प्राविधिक तथा सफाइकर्मीहरूको टोली प्रभावित क्षेत्रमा खटिएको छ । महानगरले तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर तथा एक दर्जनभन्दा बढी सफाइकर्मी परिचालन गरी नाला सफा गर्ने र मलबा हटाउने काम गरिरहेको जनाएको छ ।
संयोजक मियाका अनुसार सडक विस्तारका क्रममा भत्काइएका घरबाट निस्किएको ढुङ्गा, इँटा र माटो नालामा थुप्रिएपछि पानीको बहाव अवरुद्ध भएको हो । अधिकांश नाला जाम भएकाले वर्षाको पानी सहज रूपमा बग्न नसकेको उनले बताए ।
उनले नागरिकलाई तत्काल राहत दिन र डुबानको समस्या यथाशीघ्र समाधान गर्न एक्सन टिम निरन्तर रूपमा काम गरिरहेको जानकारी दिए ।
सडक विस्तारका क्रममा निस्किएको मलबा तथा सडकमा छरिएका विद्युत् र इन्टरनेटका तारका कारण वीरगन्जको जनजीवन पनि प्रभावित बनेको छ । हिलो, जलजमाव र अवरुद्ध नालाका कारण स्थानीय बासिन्दा तथा यात्रुले सास्ती खेप्नुपरेको छ ।
महानगरपालिकाले नाला सफाइलाई तीव्र बनाइएको, मलबा हटाउने काम जारी रहेको र पानीको सहज निकास सुनिश्चित गर्दै सहरलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाएको छ ।