न्याय के लागि ना घुमे के लेल काठमाडाैँ जाउ भन्दै भाेट बटुलेका बालेन शाह सरकारसँग ऋणको चक्रव्यूहबाट न्यायको खोजीमा मिटरब्याज पीडितले पैदल ‘न्याय मार्च’ लिएर काठमाडौँ निस्केका छन् ।
मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौँतर्फ पैदल यात्रामा निस्किएका मिटरब्याज पीडितहरू धनुषाको ढल्केबर पुगेका छन् । ‘मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपाल’ को आयोजनामा सुरु भएको पैदल ‘न्याय मार्च’ सरकारलाई दबाब दिने उद्देश्यसहित मधेस प्रदेशको राजधानी जनकपुरधामबाट सुरु भएको हो ।
पीडितहरूले बिहीबार साँझ ५ बजे जनकपुरधामस्थित तिरहुतियागाछीमा कार्यक्रम गरी काठमाडौँ यात्राको सुरुवात गरेका थिए । यात्राको दोस्रो दिन बिहानै उनीहरू ढल्केबर पुगेका हुन् । न्यायको मागसहित अघि बढेको टोली धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिबासतर्फ प्रस्थान गरेको छ । आन्दोलनकारीहरूले करिब एक साताभित्र संघीय राजधानी काठमाडौँ पुग्ने लक्ष्य राखेका छन् ।
मिटरब्याज समस्या समाधानका लागि सरकारले यसअघि पीडितहरूसँग पटक–पटक लिखित सहमति गरे पनि कार्यान्वयन नभएको आन्दोलनकारीहरूको गुनासो छ । राज्यले गरेका प्रतिबद्धता कागजमै सीमित भएपछि पुनः सरकारको ध्यानाकर्षण गराउन पैदल यात्रा गर्नुपरेको उनीहरूको भनाइ छ । साहुमहाजनको ऋणको चक्रव्यूहमा फसेका किसान तथा मजदुरहरूले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
उनीहरूले मिटरब्याजसम्बन्धी समस्या समाधान, पीडितलाई न्याय र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् ।