सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन् ।
गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलले शुक्रबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आगो लागेर घाइते भएका मण्डललाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घरमा सामान्य विवाद भएपछि विवेक घरबाट बाहिरिएका थिए । त्यसपछि सडकमा पुगेर उनले पेट्रोल छर्केर आगो लगाएका हुन् । प्रहरीले विवेकको मानसिक अवस्था केही समयदेखि असन्तुलित रहेको जनाएको छ । उनले बीएससी उत्तीर्ण गरेका थिए भने करिब डेढ वर्ष निजी क्षेत्रमा काम गरेपछि पछिल्लो दुई वर्षदेखि घरमै बस्दै आएका थिए ।
स्थानीयका अनुसार विवेक आफ्नो वडामा सञ्चालन हुने विकास निर्माणका कामको गुणस्तरबारे चासो राख्ने, अनुगमन गर्ने र ठेकेदार तथा उपभोक्ता समितिका प्रतिनिधिसँग बेला–बेला विवाद गर्ने गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।