महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित बर्दिबास चोकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्टमा गरिएको सवारी जाँचका क्रममा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७००२ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा डडेल्धुराको साविक रूपाल गाविस–७ तथा हाल भागेश्वर गाउँपालिका–१ बस्ने २६ वर्षीय पदम ठकुराठी र रौतहटको चन्द्रपुर नगरपालिका–४, गैरीगाउँ निवासी अन्दाजी १७ वर्षीया सुप्रिया राना मगर रहेका छन् ।
चेकजाँचका क्रममा पदम ठकुराठीको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल गर्दा ३५.०४ ग्राम रहेको पुष्टि भएको थियो ।
घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।