धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण महतोका अनुसार आयोजनामा जडान गरिएको ५० केभी क्षमताको ट्रान्सफर्मर अज्ञात समूहले चोरी गरेको हो । उनका अनुसार पोलमा जडान गरिएको ट्रान्सफर्मरलाई भुईँमा झारेर त्यसभित्र रहेका तामाका तार तथा तेल निकालेर लगिएको छ । ट्रान्सफर्मरको बाँकी भाग भने घटनास्थलमै छोडिएको अवस्थामा फेला परेको छ ।
ट्रान्सफर्मर चोरी भएपछि उक्त आयोजनाअन्तर्गत रहेका करिब ७०० धारामा खानेपानी आपूर्ति बन्द भएको अध्यक्ष महतोले जानकारी दिए ।
घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइएको तथा घटनाको अनुसन्धान सुरु गरिएको जनाइएको छ ।