सप्तरी प्रहरीले बोक्सी आरोपसम्बन्धी मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौली निवासी ३८ वर्षीय जीवछप्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका दुवै जनाले २०८३ साल वैशाख २९ गते डाक्नेश्वरी नगरपालिका–१०, बनौलीकी एक महिलामाथि बोक्सीको आरोप लगाउँदै अभद्र व्यवहार तथा कुटपिट गरेको आरोप छ।
घटनापछि फरार रहेका दुवै जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित रेखाकुमारी मण्डलको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा बोक्सी आरोपसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
पक्राउ परेका दुवै जनाविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिएका छन् ।