धनुषाको मिथिला नगरपालिका–९, बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।
आज बिहान करिब ६ः२० बजे बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच जना तथा सरकारी गाडीमा सवार तीन जना गरी आठ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा सवार घाइतेहरूमा एम्बुलेन्स चालक मिथिला नगरपालिका–१ निवासी ४९ वर्षीय दिपेन्द्रकुमार महतो, महोत्तरीको गौशाला नगरपालिका–५ निवासी ४५ वर्षीय बसन्तकुमार सिंह, सोही स्थानकी ४० वर्षीया रेणु कुमारी महतो, मिथिला नगरपालिका–९ निवासी ६० वर्षीया राजुदेवी तथा ६५ वर्षीय लक्ष्मी महतो रहेका छन् ।
प्रहरीका अनुसार राजुदेवी पहिलेबाटै पक्षघात (प्यारालाइसिस) की बिरामी हुन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने रेणु कुमारी महतोको अवस्था मध्यम रहेको बताइएको छ । सरकारी गाडीमा सवार घाइतेहरूमा चालक धनुषाधाम नगरपालिका–८ निवासी ५० वर्षीय बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर ६५ वर्षीया विद्दा भुजेल तथा ७० वर्षीय भीमराज भुजेल रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।