मधेस प्रदेशका कृषि तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री श्याम पटेलले आगामी आर्थिक वर्षदेखि विकास आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन साउनको पहिलो साताभित्रै प्रदेश सरकार मातहतका सबै कार्यालयलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गरिने बताएका छन् ।
जिल्ला समन्वय समिति पर्साद्वारा आयोजित नवौं जिल्लासभा तथा आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठीमा मन्त्री पटेलले विगतमा आर्थिक वर्षको अन्त्यतिर मात्र अख्तियारी दिने परिपाटीका कारण विकास निर्माणभन्दा स्रोत–साधनको दुरुपयोग बढी हुने गरेको बताए । उनले समयमै अख्तियारी उपलब्ध गराएर विकास आयोजनालाई निर्धारित समयमै सम्पन्न गराउने सरकारको नीति रहेको स्पष्ट पारेका छन् ।
मन्त्री पटेलले अख्तियारी पाएपछि पनि विकास निर्माणका काममा ढिलाइ गर्ने वा लापरवाही गर्ने कर्मचारी तथा कार्यालय प्रमुखलाई जिम्मेवार बनाइने तथा आवश्यक परे कानुनी कारबाहीसमेत गरिने चेतावनी दिएका छन् ।